(१) विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले सम्बन्धित विषयको आर्थिक, प्राविधिक र वातावरणीय अध्ययन प्रतिवेदन तथा तोकिए बमोजिमका विवरणहरु खुलाई तोकिएको अधिकारी समक्ष अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेछ ।
तर विद्युतको सर्वेक्षणको अनुमतिपत्रको लागि दरखास्त दिंदा त्यस्तो अध्ययन प्रतिवेदन संलग्न गर्न आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम परेको दरखास्तमा तोकिएको अधिकारीले आवश्यक जाँचबुझ गरी गराई दरखास्त परेको मितिले विद्युतको सर्वेक्षण अनुमतिपत्रको हकमा तीस दिन भित्र र विद्युतको उत्पादन, प्रसारण वा वितरण अनुमतिपत्रको हकमा एकसय बीस दिन भित्र तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई अनुमतिपत्र दिनु पर्नेछ ।
(३) यो ऐन प्रारम्भ हुनु भन्दा अगावै विद्युतको उत्पादन, प्रसारण वा वितरण गरिरहेको व्यक्ति वा संगठित संस्थाले पनि दफा ३ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हुनेमा बाहेक तोकिएको विवरण सहित यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष भित्र तोकिएको अधिकारी समक्ष अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम परेको दरखास्तमा तोकिएको अधिकारीले आवश्यक जाँचबुझ गरी दरखास्त परेको मितिले साठी दिन भित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।
(५) अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र बिक्री गर्न वा अन्य कुनै प्रकारले कसैलाई हस्तान्तरण गर्नु परेमा तोकिएको अधिकारीबाट स्वीकृति लिनु पर्नेछ ।